देउवालाई प्रधानमन्त्री हुन त्यति सजिलो छैन: वरिष्ठ नेता पौडेल

काठमाडौं, फागुन २० । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहलार्ई सहयोग गर्न सकिने बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । कांग्रेसले अरुलाई सहयोग गरेर पनि देशलाई सङ्कटबाट पार लगाउन सक्ने उनले स्पष्ट पारे ।

साथै पौडेललले प्रधानमन्त्री बन्न कांग्रेस सभापति शेरबहादुर देउवालाई सजिलो नभएको टिप्पणी गरेका छन् ।उनले प्रधानमन्त्री हुनबाट उनलाई रोक्न खोजेको नभई लोकतन्त्र र प्रणालीलाई के गर्दा राम्रो हुन्छ भन्नेबारे छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने बताए ।

पार्टीको आज हुने पदाधिकारी बैठकमा आफूले केन्द्रीय समितिको बैठक माग गर्ने जनाउँदै उनले नीतिगत निर्णय गरेर अघि बढ्नुपर्ने अबस्था देखिएको बताए । अहिलेको ‘भद्रगोल राजनीति’ कांग्रेसले सम्हाल्नुपर्ने बताउँदै उनले भारत, चीन र अमेरिकालार्ई सुविधा हुने गरी नभई नेपालको प्रणालीलाई सुविधाजनक हुनेगरी सरकार बन्नुपर्नेमा जोड दिए ।

उनले व्यवस्था प्रभावित गर्ने गरी आफूलाई कुनै पद नचाहिएको र अहिलेकै अवस्थाको राष्ट्रपति पद पनि आफूलाई कहिल्यै नचाहिने बताए । आफू बाँचुञ्जेल क्रियाशील भूमिकामा बाँचुञ्जेल रहने पौडेलको भनाइ थियो ।

यति बेला कांग्रेस सरकारमा जाने कि के गर्ने भन्ने विषयमा दुइमत देखिएको छ । सरकारमा सहभागिताका बारेमा छलफल गर्न बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्