सरकारमा सहभागिताबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ, फागुन २० । सरकारमा सहभागितबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।

बैठक बुढानिलकण्ठमा अपराह्न ३ बजे बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरूलाई डाकेको कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

यही फागुन २३ गते आह्वान गरिएको प्रतिनिधिसभा बैठकमा नयाँ सरकार गठनको प्रकिया अघि बढ्ने भएपछि यसबारे निर्णय गर्न सभापति देउवाले बैठक बोलाएका हुन् ।

पदाधिकारीको सुझावलाई आत्मसात गर्दै देउवाले शुक्रबार आह्वान गरिएको पार्टीको संसदीय दलको बैठकमार्फत सरकारमा जाने या नजाने भन्ने निर्क्यौल गर्ने बुझीएको छ ।

यता कांग्रेसले शुक्रबारको संसदीय दलको बैठकमा अनिवार्य उपस्थित हुन तथा उपत्यका नछाड्न आफ्ना सांसदहरूलाई निर्देशन दिइसकेको छ ।

सरकारमा सहभागिताबारे कांग्रेसभित्र मत विभाजित छ । नेकपाको आधिकारिकता नसुल्झेसम्म सरकारमा नजाने कांग्रेसले बताउँदै आएको थियो तर बिहीबार चितवनमा आयोजित एक कार्यक्रममा देउवाले प्रधानमन्त्रीको प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने बताएका छन् ।

यसैबीच वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले तत्काल सरकारमा जान नहुँने बताउँदै आएको छ । यस विषयमा आज थप निर्णय हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्