‘विप्लव’ समूहमाथिको प्रतिबन्ध हट्यो, सरकारसँग तीन बुँदे सहमति

काठमाडौँ, फागुन २० । सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ । योसँगै सरकारले विप्लवमाथि लगाएको प्रतिबन्ध हटेको छ ।

बिहीबार सरकार र विप्लव समूहको वार्ता टोलीबीच तीन बुँदे सहमति भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिएका छन् ।

बुधबार दुई चरण र बिहीबार बिहानको वार्तापछि ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लागइएको पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाई र मुद्दा खारेजी लगायतका विषय रहेका छन् ।

सहमतिको विस्तृत विवरण भोलि दिउँसो २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने जनाइएको छ ।समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीकातर्फबाट महासचिव ‘विप्लव’ले सम्बोधन गर्ने छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते विघटन घोषणा गरेको प्रतिनिधि सभा सर्वोच्च अदालतले यही फागुन ११ गते पुनर्स्थापना गरेपछि पहिलो बैठक यही फागुन २३ गते अपराह्न ४ बजे बस्दै छ।त्यसअघि फागुन २१ गते सरकार र विप्लव नेकपाले संयुक्त रूपमा विशेष समारोह आयोजना गर्ने भएका हुन्।

सरकारले चन्द नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाएको थियो । सरकारले प्रतिबन्ध लगाएपछि विप्लवले विभिन्न किसिमका अराजक क्रियाकलाप गर्दै आएको थियो । विप्लवका कतिपय कार्यकर्ता अझै पनि हिरासतमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्