नेकपा विवाद यथाशीघ्र टुंगो लगाउन ५ पूर्वनिर्वाचन आयुक्तको आग्रह

काठमाण्डौ , फागुन २० । पाँच जना पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले राजनीतिक दलको विवाद निरुपणमा निर्वाचन आयोगले ढिलाई गरेको भन्दै आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनीहरुले राजनीतिक दलको पछिल्लो विवादबारे प्रचलित कानुन र स्थापित नजिरका आधारमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगसँग आग्रह गरेका हुन् ।

पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा। अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङले आज संयुक्त विज्ञप्ति प्रकाशन गरी उक्त सुझाव दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “राजनीतिक दलको विवाद निरुपणमा ढिलाइ गरेको भनी निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्तताका विषयमा उठाइएका प्रश्नले हामीलाई गम्भीर बनाएको छ ।” नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद हालसम्म नटुङ्‍गिएको स्थितिमा उनीहरुको यो प्रतिक्रिया आएको हो ।

आयोग अनिर्णयको बन्दी हुँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्न सक्ने गाम्भीर्यता तथा आयोगको आफ्नै शाखमा पर्न सक्ने असरलाई समेत विचार गरी चाँडो निर्णय दिन उनीहरुले अनुरोध गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्