विप्लव समूहसँग सैद्धान्तिक र प्राविधिक विषयमा सहमतिनजिक पुगेको गृहमन्त्रीको दावी

काठमाडौं, फागुन १९ । सरकारी वार्ता टोलीका संयोजकसमेत रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव समूहको वार्ता टोलीसँग सैद्धान्तिक र प्राविधिक विषयमा सहमति नजिक पुगेको दावी गरेका छन्।

आज बिहान विप्लव समूहको वार्ता टोलीसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गरेको पहिलो चरणको वार्तापछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गृहमन्त्री थापाले छिट्टै सुखद् परिणाम आउने अपेक्षा पनि राखेका छन्। केही विषयमा भने छलफल जारी रहेकोसमेत उनले बताए।

आज भएको वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको थापाले संकेत छ।

गृहमन्त्री थापाले लेखेका छन् -“मेरो नेतृत्वमा रहेको नेपाल सरकारको वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको प्रकाण्डको नेतृत्वमा रहेको वार्ता टोलीबीच आज भएको पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख छ। धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमतिनजिक छ, केही विषयमा छलफल जारी छ र छिट्टै सुखद् परिणाम आउने अपेक्षा छ” ।

यसअघि सरकारी वार्ता टोलीका अर्का सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईले पनि वार्ता सकारात्मक दिशाउन्मुख रहेको बताएका थिए।

सरकार र विप्लव समूहले हिजो वार्ता टोलीको नाम सार्वजनिक गरेको थियो। सरकारले समस्या समाधान गर्न र विप्लवले देशको राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताको विषयमा छलफल गर्न वार्ता बस्ने जनाएको छ।

वार्ता सकारात्मक भए विप्लवमाथि झण्डै दुई वर्षदेखि कायम गरेको प्रतिबन्ध सरकारले हटाउनेछ।हिंसात्मक गतिविधि गरेर राजनीतिक चरित्र गुमाएको भन्दै सरकारले २०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो।

प्रतिक्रिया दिनुहोस्