प्रचण्ड समूहले भन्यो – संवैधानिक नैतिकताका आधारमा ओलीले प्रधानमन्त्री पदमा एक मिनेट पनि बस्‍न मिल्दैन

काठमाडौं, फागुन १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक नैतिकताका आधारमा एक मिनेट पनि प्रधानमन्त्रीको पदमा बस्‍न नमिल्ने ठहर गरेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पार्टीको पाँचौं केन्द्रीय कमिटी बैठकले यस्तो बताएको हो । संवैधानिक नैतिकता कायम नगरेका कारण राजीनामा दिनु कर्तव्य हुने र एक मिनेट पनि प्रधानमन्त्री पदमा बस्‍न नमिल्ने यो समुहले ठहर गरेको हो।

“सर्वोच्च अदालतको ऐतिहासिक फैसला स्वागतयोग्य छ, सम्पूर्ण न्यायमूर्ति, पत्रकार, नागरिक समाजलाई धन्यवाद ज्ञापन गर्दछ, प्रधानमन्त्री ओलीले असंवैधानिक रूपमा गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरेको छ तर प्रधानमन्त्री ओलीले आफ्नो असंवैधानिक कदम सर्वोच्चले खारेज गरेपछि संवैधानिक नैतिकता कायम नगरेको हुनाले राजीनामा दिनु उहाँको कर्तव्य हुन्छ,” बैठकको निर्णय सुनाउँदै स्थायी कमिटी सदस्य भीम रावलले भने।

प्रधानमन्त्री ओलीलाई पदबाट राजनीामा दिनु नैतिक बाध्यता रहेको उनले बताए। यता प्रधानमन्त्री ओलीले भने आफुले राजीनामा नदिने अडान लिएका छन् । उनले आफुलाई हठाएर देखाउन पनि चुनौती दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्