प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले गर्‍यो ओली पक्षका ६ नेतालाई कारबाही, नेम्वाङलाई स्थायी समितिबाटै निलम्बन

काठमाडौं, फागुन १९ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ६ नेतालाई कारबाही गरेको छ।

बुधबार पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी समिति सदस्य सुवास नेम्वाङ, केन्द्रीय सदस्यहरु विशाल भट्टराई, महेश बस्नेत, शान्ता चौधरी, प्रभु साह, सूर्य थापा, गोकुल बाँस्कोटालाई कारबाही गर्ने निर्णय गरेको हो।

स्थायी कमिटी सदस्य तथा दलका उपनेता सुवास नेम्वाङले पार्टीको अन्तरिम विधान उल्लंघन गरेको हुनाले स्थायी कमिटीबाट निलम्बन गर्दै तीन दिनभित्र उपनेताबाट राजीनामा गर्न निर्देशन दिइएको हो।

त्यस्तै, केन्द्रीय सदस्य विशाल भट्टराईलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्ने र सांसदको जिम्मामा रहन सचेत गराउने निर्णय गरेको छ।

यसबाहेक महेश बस्नेत, शान्ता चौधरी, प्रभु साह, सूर्य थापा, गोकुल बाँस्कोटालाई केन्द्रीय सदस्यबाट निष्काशित गर्ने समेत निर्णय गरेको हो।

केपी ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्ने सबै दलहरुलाई संयुक्त सरकारका लागि यो बैठकले अपिल गर्ने समेत बैठकले निर्णय गरेको छ।

यसअघि सो समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गर्ने निर्णय गरेको थियो। त्यसैगरी, महासचिवबाट विष्णु पौडेललाइ पनि हटाएको थियो। यसैबीच यो पक्षले सुवास नेम्वाङलाई पार्टीको स्थायी समितिबाट निलम्बन गरेको छ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको सो पक्षको स्थायी समितिको बठकले नेम्वाङलाई स्थायी समिति सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको थियो।

सो निर्णयलाई त्यसलगत्तै बसेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको एक केन्द्रीय सदस्यले बताए।सो बैठकले नेम्वाङलाई संसदीय दलको उपनेताबाट तीन दिनभित्र राजीनामा दिन समेत निर्देशन दिएको छ।

सो बैठकले नेम्वाङलाई पार्टीको अन्तरिम विधान उल्लंघन गरेको भन्दै उनलाई निलम्बन गर्न र तीन दिनभित्र उपनेता पदबाट राजीनामा गर्न निर्देशन दिएको हो।

पुस ५ गते प्रतिनिधि सभा विघटनसँगै प्रचण्ड(नेपाल र प्रधानमन्त्री ओलीले छुट्टाछुट्टै रूपमा राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका छन्। दुवै दल कानुनी रूपमा भने अहिले पनि एकै छन्।

प्रतिक्रिया दिनुहोस्