प्रधानमन्त्री ओली आज पूर्व जाँदै, के के छन् कार्यक्रम ?
काठमाडौं, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीे आज गृह जिल्ला झापा जाँदैछन् । सहरी विकास मन्त्रालयले मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत बस्ती निर्माणको शिलान्या, विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उदघाटनका लागि उनी त्यसतर्फ लागेका हुन् ।
प्रधानमन्त्री ओलीले आजै विर्तामोड नगरपालिका–७ मा विपन्न परिवारका लागि निर्मित एकीकृत वस्ती पनि उदघाटन गर्ने कार्यक्रम तय भएको छ । विर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीका अनुसार प्रधानमन्त्री ओलीले ३५ परिवारलाई घर हस्तान्तरण गर्ने छन् । ‘७ धुर जग्गासहितको घर विपन्न परिवारले पाउने छन्,’ शिवाकोटीले भने ।
झापापछि प्रधानमन्त्री ओली मोरङको उर्लाबारी आउने कार्यक्रम छ । उर्लाबारीमा सन्थाल जातीको एकीकृत बस्ती शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।
संसद पुनःस्थापनापछि आफू झन् बलियो बनेको बताउने गरेका ओलीको अहिले देश दौडाहा बढेको छ । उदघाटन, शिलान्यासलगायतका कार्यक्रमका लागि उनी व्यस्त हुने गरेका छन् । हिजो मात्रै प्रधानमन्त्री ओली पोखराका बिभिन्न कार्यक्रममा सहभागी भएर फर्किएका थिए ।
उर्लाबारी नगरपालिकाको रातोहोली खोल्सीको किनारमा सन्थाल एकीकृत बस्ती विकास गर्ने सम्पूर्ण तयारी भइसकेको छ । एकीकृत सन्थाल बस्ती निर्माणको लागि मास्टर प्लान तयार भइसकेको छ ।
मन्त्रालयले रातोहोली खोल्सीको किनारमा २६ उराव र १०६ सन्थाल जातिको गरी कूल १३२ वटा घर निर्माण गर्न लागेको हो । पूरै बस्ती निर्माणका लागि ३० करोड रकम खर्च हुने अनुमान छ ।
एकीकृत बस्ती विकास सन्बन्धी कार्यविधि २०७५ अनुसार सन्थाल बस्तीको निर्माण स्थानीय प्रविधि, सिप र सामाग्री प्रयोग गरी गरिने छ । प्रत्येक परिवारका लागि कम्तीमा २ सयन कोठा, एक भान्सा कोठा र एक शौचालयको व्यवस्था गरिने छ ।
समग्र वस्तीका लागि भने आवश्यक पर्ने अन्य सामाजिक तथा आर्थिक पूर्वाधार अन्तर्गत सडक, खानेपानी, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाइ, बाल विकास केन्द्र, सामुदायिक भवनलगायत निर्माण गर्ने गरी मास्टर प्लान डिजाइन गरिएको मन्त्रालय मातहतको सघन शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्