पशुपतिमा दाहसंस्कारका लागि सरकारले निःशुल्क दाउरा उपलब्ध गराउँछ : मन्त्री आले
काठमाडौं, फागुन १७ । अब सरकारले पशुपतिमा दाहसंस्कारका लागि निःशुल्क दाउरा उपलब्ध गराउने भएको छ ।
वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाह संस्कारका लागि सरकारले निःशुल्क दाउरा उपलब्ध गराउने बताएका छन् ।सोमबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको गोष्ठी उद्घाटन गर्दै मन्त्री आलेले यस्तो जानकारी गराएका हुन् ।
दाह संस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्दै मन्त्रालयले निःशुल्क दाउरा उपलब्ध गराउने उनले बताए । यसका लागि मन्त्रालयले गृहकार्य अगाडि बढाइसकेको बताउँदै यसै पटक लागू हुने उनले जानकारी गराए ।
साथै मन्त्री आलेले खुल्ला चिडियाखानाको अवधारणा अगाडि बढाएको पनि बताए । कम्तिमा ३५ जिल्लामा कार्यक्रम अगाडि बढाउनका लागि मन्त्रालयमा छलफल गरिरहेको उनले जानकारी दिए ।
मन्त्री आलेले प्रधानमन्त्री जडिबुटी तथा कृषि वन रोजगार कार्यक्रम मन्त्रालयले अगाडि बढाएको उल्लेख गर्दै कम्तिमा ७ वटा जिल्लाबाट जडिबुटी उत्पादनको पकेट क्षेत्रको रूपमा कार्यक्रम अगाडि बढाउने जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्