सर्वोच्चलाई प्रचण्डको जवाफ- मेरो अभिव्यक्तिले अदालतको अवहेलना हुनै सक्दैन

काठमाडौं , फागुन १६ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले अदालतको अवहेलना नगरेको जवाफ सर्वोच्च अदालतलाई दिएका छन् ।

सर्वोच्च अदालतमा आज लिखित जवाफ पेश गर्दै प्रचण्डले यस्तो जवाफ दिएका हुन् । उनले वर्तमान सरकारको नेतृत्वले प्रायोजित रुपमा तयार गरेको निवेदन दायर गरेको समेत बताएका छन् ।

लिखित जवाफमा प्रचण्डले अदालत र न्यायाधीश उपर लाञ्छना लगाउने, धम्की दिने र न्याय दिने काममा बाधा गर्ने न्यायिक फैसला उलङ्घन गर्ने काम आफूबाट हुन नसक्ने बताएका छन् ।त्यस्तै उनले आफूले अदालतलाई धम्की दिएको भन्ने झुटो भएको भन्दै आफूविरुद्धको रिट खारेज गर्न माग गरेका छन् ।

अदालतको अवहेलना मुद्दामा आइतबार १० बुँदे लिखित जवाफ पेश गर्दै प्रचण्डले संवैधानिक नियुक्तिको विरोधमा देशभर सर्वत्र विरोध भैरहेको पनि उल्लेख गरेका छन् ।

प्रचण्डले भनेका छन्- आफूहरुको जुलुस, नारा र भाषणले स्वतन्त्र सक्षम न्यायपालिकालाई प्रभाव पर्ने र पार्ने कुरा हुन सक्दैन , सरकार र उसका नातेदार अदालतलाई कमजोर ठान्छन् । त्यसैले यस्ता निवेदन हाल्न लगाउँछन् ।’

प्रचण्डले जवाफमा लेखेका छन्, ‘मैले सावजनिक सभामा मुद्दाका विषयमा बोलेको नभइ कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको हुँ । यसबाट अदालतको अवहेलना हुनै सक्दैन ।’

संसद विघटन भएपछि प्रचण्ड दाहाल पुनस्र्थपनाको माग गर्दै सडकमा आएका थिए । त्यति बेला प्रचण्डले विभिन्न टिका टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्