डिभिजन २ उपाधिका लागि नेपाल र युएई आज भिड्दै
काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन-२ को समूह चरणको अन्तिम खेलमा क्यानडामाथि १ विकेटको सनसनीपूर्ण जित निकालेसँगै नेपाल लिगको शीर्ष स्थानमा रहन सफल भयो। बुधबार नै भएको खेलमा आयोजक नामिबियालाई पराजित गरेको युएई लिगमा दोस्रो बन्यो।
शीर्ष २ मा परेका नेपाल र युएईबीच आज उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ। खेल नामिबियाको एन्डरर्स मैदानमा दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ।
नेपालले ५ मध्ये ४ खेलमा जित निकाल्दै ८ अंक जोड्यो। पाँचौ खेलमा क्यानडालाई पराजित गरेको नेपालले पहिलो खेलमा नामिबिया, तेस्रो खेलमा युएई र चौथो खेलमा केन्यालाई हराएको थियो। दोस्रो खेलमा भने नेपाल ओमानसँग पराजित भएको थियो।
दोस्रो स्थानको युएईले ६ अंक जोड्यो। युएईले ६-६ अंक जोडेका तेस्रो स्थानको क्यानडा र चौथो स्थानको नामिबियालाई रनरेटपछि पारेको हो। पाँचौ स्थानमा रहेको ओमानले २ जित निकाल्दा केन्याले समूह चरणका पाँचै खेलमा हार बेहोर्यो।
शीर्ष २ मा स्थान बनाएसँगै नेपाल र युएईले आगामी महिना जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान पक्का गरेका छन्। प्रतियोगिता ४ मार्चमा सुरु भएर २५ मार्चमा सकिनेछ।
छनोट प्रतियोगितामा १० टिमले भाग लिँदैछन् । १० मध्ये २ टिम सन् २०१९ को एकदिवसीय विश्वकपमा छनोट हुनेछन्।
प्रतिक्रिया दिनुहोस्