परीक्षा उत्तीर्ण भएकालाई एक महिनाभित्र चालक अनुमतिपत्र
काठमाडौं , फागुन १४ । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी भएको छ । यस्तो हुँदा अब यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिने भएको छ ।
यसका लागि विभागले योजना बनाइरहेको बताएको छ । ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग गरेर एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने पनित विभागले जनाएको छ ।
अहिले तत्काल कार्ड स्टक थोरै सङ्ख्यामा भएकाले छाप्न नसकिएको भए पनि नयाँ कार्ड आउनासाथ अनुमतिपत्र छपाइ गरिने छ । विभागले १४ लाख कार्ड खरीदका लागि प्रक्रिया अघि बढाएको निर्देशक रामचन्द्र पौडेलले बताए । उनका अनुसार यी कार्डको खरीद गर्न लागेको कम्पनीले अहिले थोरै सङ्ख्यामा कार्ड नमूना परीक्षणका लागिसमेत पठाइसकेको छ ।
विभागले गत वर्ष खरीद गरेको ‘मास प्रिन्टर’ को क्षमता एक घण्टामा ४५० अनुमतिपत्र छाप्न सक्ने रहेको छ । एक दिनमा १० घण्टा सञ्चालन गर्दा पनि चार हजार ५०० छापिने निर्देशक पौडेलले बताए । उपकरणलाई २४ घण्टा चलाउँदा १० हजार बढी छापिने उनको भनाइ छ ।
कोभिड–१९ का कारण झण्डै १० महिनादेखि अवरुद्ध नयाँ अनुमतिपत्र सरकारले गत पुसमा पुनः खुलाएको हो । देशभरबाट अनलाइन माध्यमबाट पाँच लाखभन्दा बढी सेवाग्राहीले आवेदन दिइसकेका छन् । तीमध्ये पास दर ३० प्रतिशत हाराहारीमा हुने भएकाले छपाइ गर्न सकिने विभागले जनाएको छ । नयाँ १४ लाख कार्ड एकैपटक आएपछि माग धान्न गाह्रो नहुने निर्देशक पौडेलले बताए ।
‘मास प्रिन्टर’ सँगै विभागमा साना क्षमताका उपकरण रहेका छन् । तत्कालका लागि तीनको प्रयोग नभए पनि प्रयोग गर्न सकिने अवस्थामा रहेको विभागले जनाएको छ । विगत दुई वर्षदेखि प्रदेश सरकारअन्तर्गतका यातायात व्यवस्था कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन, नवीकरण र वितरण गरिरहेका छन् । विभागले ‘सर्भर’ को काम र अनुमतिपत्र छपाइ गरिरहेको छ ।















प्रतिक्रिया दिनुहोस्