काठमाडौंमा फेरि भेटियो बर्डफ्लु , साढे १५ हजार पन्छी नष्ट, पशु विभागले जारी गर्‍यो ४ बुँदे अपिल

काठमाडौं , फागुन १४ । काठमाडौँको तारकेश्वरमा फेरि बर्डफ्लु भेटिएको छ । पशु सेवा विभागले तारकेश्वर नगरपालिका–१ मा व्यावसायिक रुपमा पालिएका कुखुराको नमुनाको केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरेको पिसिआर परीक्षणमा बर्डफ्लु रोग पुष्टि भएको विभागका महानिर्देशक डा दयमन्ती श्रेष्ठले जानकारी दिइन् ।

काठमाडौंको तारकेश्वरमा बर्डफ्लु संक्रमण देखिएकाले झन्डै साढे १५ हजार पन्छी नष्ट गरिएको जानकारी दिँदै पशु सेवा विभागले यो नियन्त्रणका लागि ४ बुँदे अपिल जारी गरेको छ।

विभागले शुक्रबार बिहान जारी गरेको विज्ञप्तिअनुसार काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १ मा रहेका व्यावसायिक र्फाममा पालिएका कुखुरासहित विभिन्न प्रजाति गरी १५ हजार ४६४ पन्छी नष्ट गरिएको हो।

बर्डफ्लु रोग तुरुन्त नियन्त्रण गर्न तथा अन्यत्र फैलिन नदिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित सबै निकाय परिचालन गरी संक्रमण फैलिन सक्ने पन्छीलगायत सबै वस्तु नष्ट गरिएको छ।

त्यस क्रममा बर्डफ्लु देखिएको क्षेत्रका ५,६५७ लेयर्स कुखुरा, ७,२३६ ब्रोइलर कुखुरा, २,५०४ लोकल कुखुरा, ५० टर्की र १७ बट्टाई नष्ट गरिएको विभागले जनाएको छ।

यसैगरी ३५७० वटा अन्डा, ३ हजार केजी दानासमेत नष्ट गरी सुरक्षित स्थानमा विसर्जन गरी संक्रमित क्षेत्रलाई पूर्ण रूपमा निःसंक्रमण (संक्रमणरहित) पारिएको विभागकी महानिर्देशक दमयन्ती श्रेष्ठको हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख छ।

यसअघि पनि त्यहाँ बर्डफ्लु रोग देखिएको थियो । यही फागुन ८ गते सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु देखिएको थियो । उनका अनुसार अहिले सो ठाउँलाई पूर्ण निःसङ्क्रमण गरिएको छ ।

बर्डफ्लु रोग देखिएपछि पाँच हजार ६५७ लेयर्स कुखुरा, सात हजार २३६ ब्रोइलर कुखुरा, दुई हजार ५०४ लोकल कुखुरा, ५० वटा टर्की, तीन हजार ५७० अण्डा र तीन हजार केजी दाना नष्ट गरिएको उनले बताइन् ।

उनले विगत एक महिनादेखि वाग्मती प्रदेशको काठमाडौँको तारकेश्वर, कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा देखा परेको बर्डफ्लु रोग नियन्त्रण गरी सो क्षेत्रलगायत मुलुकभर सघन निगरानी कार्य भइरहेको जानकारी दिइन् ।

महानिर्देशक डा.श्रेष्ठले रोग पुष्टि भएका क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रण लिन सङ्घ, प्रदेश र स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सबै घर पालुवा पक्षी तथा रोग सार्न सक्ने अन्य बस्तु समेत नष्ट गरिएको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्