कांग्रेस पदाधिकारी बैठक बस्दै, यी विषयमा हुनेछ छलफल

काठमाडौं, फागुन १३ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज (बिहीबार) बस्दै छ ।

देउवा निवास बुढानीलकण्ठमा दिउँसो ३ बजे बोलाइएको बैठकमा पार्टीका पूर्व पदाधिकारीहरु समेत सहभागी हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनस्र्थापनापछि कांग्रेसको रणनीति, नेकपा प्रचण्ड–माधव समूहको प्रस्तावलगायत विषयमा छलफल हुने पौडेलले बताए ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि पुनस्र्थापित संसदमा नयाँ सरकार गठनको रस्साकस्सी शुरु भएको छ । यसमा कांग्रेस निर्णायक देखिएको छ ।

प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले बुधबार देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्ताव समेत राखिसकेका छन् । देउवाले पार्टीमा छलफल गरेर जवाफ दिने बताएका थिए ।

त्यसैले कांग्रेस संसदीय दलका नेता समेत रहेका देउवाले आज पदाधिकारी र पूर्व पदाधिकारीहरुसँग संयुक्त छलफल गर्न लागेका हुन् । यो बैठकपछि देउवाले छिट्टै संसदीय दलको पनि बैठक बोलाउने बताएका छन् । प्रतिनिधिसभामा कांग्रेसका ६१ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्