प्रचण्ड, नेपाल र देउवाबीच भेटवार्ता, प्रधानमन्त्री बन्न प्रस्ताव ‘अफर’

काठमाडौं, फागुन १२ । नेकपाको दाहाल नेपाल समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

बुधबार दिउँसो प्रचण्ड र नेपाल देउवालाई भेट्न देउवा निवासमा पुगेका हुन् । भेटमा अध्यक्षद्वयले देउवासँर्ग सत्ता सहकार्यका लागि प्रस्ताव गरेका छन् ।

सभापति देउवालाई भेट्नका लागि आज देउवा निवास पुगेका अध्यक्षद्वय माधवकुमार नेपाल र प्रचण्डले सभापति देउवासँग सँगै मिलेर जान प्रस्ताव गरेका हुन् । दुवै पक्ष आ–आफ्नो पार्टीमा आन्तरिक छलफल गरेर अर्को चरणको वार्तामा बस्न सहमत भएका छन् ।

भेटवार्तामा प्रचण्ड र नेपालले मिलेर जाने र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामापछि संयुक्त सरकार बनाउने प्रस्ताव गरेको देउवा निकट स्रोतले जानकारी दिएको छ । जवाफमा देउवाले यस विषयमा पार्टीमा छलफल गरी जवाफ दिने प्रतिक्रिया दिएका छन् ।

देउवा निवास बुढानिलकण्ठमा तीन नेताबीच भएको छलफलमा प्रचण्ड र माधवकुमार नेपालले सभापति देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव ‘अफर’ पनि गरेका छन् । नेकपा उच्च स्रोतकाअनुसार तीन नेताबीच झण्डै ४५ मिनेट भएको छलफलमा प्रचण्ड र नेपालले यस्तो अफर गरेका हुन् ।

वर्तमान राजनीतिक परिस्थीतिका बारेमा छलफल भएको देउवाका स्वकीय सचिव भानु देउवाले बताएका छन् । उहाँहरुले सबै मिलेर जाऊँ भन्नुभएको छ । सभापतिले पार्टीमा छलफल गर्छु भने ’ उनले भने ।

यता कांग्रेसले प्रचण्ड नेपालको प्रस्तावका बारेमा छलफल गर्न भोलि पदाधिकारी बैठक बोलाइएको छ । स्वकीय सचिव देउवाले भोलि पदाधिकारी बैठक बोलाउने तयारी भएपनि समय भने निश्चित भइनसकेको बताए । पदाधिकारी बैठक सभापति देउवा निवास बुढानिलकण्ठमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्