सुरक्षा परिषद्को बैठक सकियो, के भयो छलफल ?
काठमाडौं , फागुन ११ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसेको थियो ।
मुलुकको पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्न नियमित बैठक बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सिंहदरबारस्थित रक्षा मन्त्रालयस्थित सुरक्षा परिषदको सचिवालयमा बसेको बैठक केहीबेरअघि सकिएको हो ।
बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको गतिविधिको समीक्षा गर्नुका साथै उक्त समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल भएको स्रोतले बताएको छ ।
कतिपयले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै बैठक बोलाइएको अनुमान गरेका छन् । खासगरी राष्ट्रिय विपद र सुरक्षामा खतरा पैदा भए सेना परिचालन गर्ने निर्णय गर्न सुरक्षा परिषदको बैठक बस्ने गर्दछ ।
आजको बैठकलाई महत्वका साथ हेरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच हिजो भेटवार्ता हुनुले पनि आजको बैठकलाई अर्थपूर्ण मानिएको छ ।
बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी हुनु भएको थियो ।
समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक प्रावधान छ ।
सुरक्षा परिषदको बैठक यसअघि गत कात्तिक ५ गते बसेको थियो ।
प्रतिक्रिया दिनुहोस्