काठमाडौं आइपुग्यो भारतसँग किनेको कोरोनाविरुद्धको १० लाख डोज खोप, ढुक्क भएर लगाउन सुझाव

काठमाडौं, फागुन ९ । सरकारले भारतसँग किनेको कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ । उक्त कोभिसिल्ड खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एअर इण्डियाको विमानमार्फत दिउँसो २ बजे आइपुगको हो ।

नेपाल सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियामा फागुन ५ गते २० लाख डोज खरिदका लागि सम्झौता गरेको थियो।
सरकारले प्रति डोज ४ डलरमा २० लाख डोज खोप खरिद गरेको हो। जसमध्ये पहिलो चरणमा १० लाख डोज आज आएको छ । बाँकी १० लाख खोप पनि चाँडै नेपाल आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
उक्त खोप टेकुस्थित कोल्डरुममा भण्डारण गरी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरका खोप केन्द्रमा वितरण हुने छ ।

सरकारले फागुन २३ गतेदेखि सञ्चालन गर्ने दोस्रो चरणको खोप अभियानका लागि उक्त खोप खरिद गरेको हो । यसअघि भारत सरकारले नेपाललाई अनुदान स्वरूप कोभिशिल्ड खोपको १० लाख मात्रा उपलब्ध गराएको थियो ।

त्यही खोप प्रयोग गरेर नेपालमा कोभिड–१९ विरुद्ध खोप अभियान सुरु भइसकेको छ । सरकारले फागुन २३ देखि ५५ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाउने जनाएको छ ।सरकारले कुल जनसंख्याको ७० प्रतिशतलाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ।

अहिले भारतबाट ल्याइएको खोप पनि पहिलाको जस्तै सुरक्षित भएकाले ढुक्क भएर लगाउन राष्ट्रिय खोप सल्लाहकार समितिका सदस्य डाक्टर झलक शर्मा गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्