अब अन्तिम विकल्प चुनाव नै हो, बहस सिर्जना गरेर काम छैन : कमल थापा

काठमाडौं, फागुन ९ । राप्रपाका अध्यक्ष कमल थापाले अब निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन् । आज झापामा गरेको पत्रकार भेटघाटमा उनले प्रधानमन्त्रीबाट संसद विघटन असंवैधानिक कदम भए पनि अब निर्वाचनमा जानुको विकल्प नभएको बताएका हुन् ।

संविधानमा संसद विघटन सम्बन्धिको व्यवस्थानै प्रष्ट नभएका कारण अहिले बहस सिर्जना भएको उनले बताए । संसदीय अभ्यास र प्रधानमन्त्री प्रणालीमा संसद विघटनको अधिकार अन्तर्राष्ट्रिय अभ्याससमेत भएको उनको भनाइ रहेको छ ।

पत्रकार भेटघाटमा उनले भने, ‘संसद विघटन सम्बन्धिको प्रष्ट व्यवस्था नहुँदा अहिले बहस सिर्जना भएको तर अब यसको करेक्सनका लागि जनताका बीचमा जानुको विकल्प छैन ।’

आफुहरुले शुरू देखिनै नेपालले संघीयता धान्न नसक्ने बताउँदै आएको र अहिले त्यो प्रमाणित भएको उनको तर्क छ । उनले अब संघीयता खारेज गर्नेभन्दा पनि नयाँ मोडलमा जानु पर्ने सुझाव दिए ।

प्रदेश तहको कुनै भुमिका र औचित्य नभएको भन्दै उनले प्रदेशको अधिकार पनि स्थानीय तहलाई दिएर दुई तहको बलियो संघीयता स्थापित गर्नु पर्ने उनको भनाई छ ।

राजसंस्था सहितको लोकतन्त्र र धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दू राज्यको मान्यतामा राप्रपा अडिग रहेको भन्दै यसलाई क्रमिक जनताले पनि साथ दिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्