डा. बाबुराम भट्टराई आज भारत जाँदै, किन जाँदैछन् ?

काठमाडौं, फागुन ९ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली जाँदैछन् । भट्टराई आज (आइतबार) नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली जान लागेका हुन् ।

उनको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए । अहिले चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेकाले उनी दिल्लीमा त्यसको उपचारका लागि जान लागेका हुन् । दिल्लीमा उनको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुनेछ ।

उपचारका लागि दिल्लीमा रहँदा उनको बसाइ त्यहाँस्थित नेपालको दूतावासमा हुने जनाइएको छ । उपचारका क्रममा उनीसँग पूर्वमन्त्री तथा नेतृ हिसिला यमी र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डे रहने छन् ।

हिजो ९शनिबार० पूर्व प्रधानमन्त्री तथा आन्दोलनरत नेकपाका वरिष्ठ नेता झलनाथ खनाल भारतमा उपचार गराई स्वदेश फर्किएका छन् । उनले भारतको एपोलो अस्पतालमा उपचार गराएर फर्किएका हुन् । उनी नशासम्बन्धी समस्याका कारण शरीर काम्ने रोगबाट पीडित छन् ।

प्रतिक्रिया दिनुहोस्