पार्टीभित्रको विवादमा संविधानका धारा देखाएर संसद् विघटन गर्न मिल्दैन : एमीकस क्युरी शाक्य
काठमाडौँ , फागुन ६ । पार्टीभित्रको विवादलाई देखाएर प्रतिनिधिसभा विघटन गर्नु संविधानसम्मत् नभएको एमीकस क्युरी वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले बताएका छन् । बिहिबार प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा एमीकस क्युरीको तर्फबाट राय राख्दै उनले यस्तो बताएका हुन् ।
संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शाक्यले भने, ’पार्टीभित्रको विवादमा संविधानका धारा देखाएर संसद् विघटन गर्न मिल्दैन ।’ पार्टीभित्रको विवाद समाधान पार्टीको विधान र नियमअनुसार गर्नुपर्छ ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विवाद देखाएर प्रतिनिधिसभा विघटन गरेको भनेर दिएको लिखित जवाफ उल्लेख गर्दै त्यस्तो गर्न संविधानले नदिने उनले प्रतिक्रिया दिए ।
साथै उनले यो संसदीय मान्यता नभएको बताउँदै अविश्वासको प्रस्ताव ल्याउने कुरा संसदीय दलको विधानमा व्यवस्था रहेको उनको भनाइ थियो ।साथै शाक्यले प्रधानमन्त्रीले कुनै कुरा नलुकाएकाले बदनियत नरहेको तर असम्बन्धित कुरालाई देखाएर संसद् विघटन गरेको तर उनले त्यसो गर्न संविधानले नदिने बताए ।
प्रधानमन्त्रीले पार्टीभित्रको विवादलाई लिएर विघटन गरेको भनेर लेखेकाले बदनियत नरहेको शाक्यको भनाइ छ ।संविधानको धारा ८५ अनुसार संसद् विघटन गर्ने अधिकार नहुने शाक्यको भनाइ थियो । संविधानबमोजिम अगावै विघटन भएमा बाहेक भनेको धारा ७६ उपधारा ७ बमोजिम भनेको हो भन्ने उनले तर्क राखे ।
जुन आधार देखाएर विघटन गरिएको छ त्यो असान्दर्भिक भएको शाक्यको भनाइ छ ।लिखित संविधानमा सरकारको सीमित अधिकार हुने बताउँदै शाक्यले प्रधानमन्त्रीलाई संसद् विघटन गर्न कुन विशेष, अन्तरनिहीत र अवशिष्ट अधिकार नरहेको राय दिए ।
राजाको पालामा मात्रै त्यस्तो विशेषाधिकार हुने तर जनताले आफ्ना प्रतिनिधिहरूको सभा संविधानसभामार्फत संविधान लेखेर कुन निकायलाई कुन अधिकार हुने भन्ने निश्चित भएपछि मलाई विशेष अधिकार छ भन्न नहुने शाक्यको भनाइ थियो । उनले कुनै अधिकार थप गर्न पाउने हो भने संविधान संशोधनमार्फत थप्न मिल्ने बताए ।
प्रतिक्रिया दिनुहोस्