अमेरिकामा लगातार हिमआँधीः २० जनाको मृत्यु
काठमाडौं, फागुन ५ । संयुक्तराज्य अमेरिकामा केही दिनदेखिको हिमआँधी आएको छ । यस हिमआँधीमा परेर कम्तीमा २० जनाको मृत्यु भएको छ ।
दक्षिणपश्चिम टेक्सासदेखि उत्तरपूर्वी म्यासाचुसेट्ससम्मको विशाल भूमिमा ठूलै हिमआँधी आएको अमेरिकी जलवायु सेवाले जनाएको छ ।
यस हिम आँधीकै कारण टेक्सासमा मङ्गलबार अपराह्नसम्ममा ३० लाखभन्दा बढी मानिस विद्युत सेवाबाट बन्चित भएका छन् ।
यस्तै उत्तरी क्यारोलिनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १० जना अरु घाइते भएका छन्। दक्षिणी टेनेस्सी राज्यमा पनि एक जना १० वर्षीय बालकको हिउँले ढाकिएको पोखरीमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिकूल मौसमका कारण धेरैवटा कोभिड–१९ का खोप केन्द्रहरु पनि बन्द गर्नु परेको छ। खोप ढुवानीमा समेत समस्या उत्पन्न भएको छ।
अर्को हिउँदे आँधी अमेरिकाका दक्षिण तथा मध्यपश्चिमी क्षेत्रमा बुधबारदेखि शुरु हुन लागेको पनि जलवायु अधिकारीहरुले बताएका छन्। यस हिमआँधीले यहाँको जनजिवन प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस्