एमिकस क्युरीका कार्कीको निष्कर्ष : ओलीले बदनियतपूर्ण ढंगले संसद विघटन गरे , यो कदम गलत
काठमाडौं, फागुन ४ । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन गलत रहेको बताएका छन्।उनले प्रधानमन्त्री ओलीले जुन नियत र जुन तरिकाले प्रतिनिधि सभा विघटन गरे त्यो गलत रहेको बताएका छन्।
‘संसदीय व्यवस्थामा विघटनको अधिकार हुन्छ, तर प्रधानमन्त्री ओलीले जुन नियत र तरिकाले विघटन गर्नुभयो त्यो गलत छ,’ कार्कीले भने, ‘ओलीले बदनियतपूर्ण ढंगले विघटन गरेको हुँदा यो गलत छ।’
प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथि जारी सुनुवाइमा एमीकस क्युरीको रुपमा सर्वोच्च अदालतमा आफ्ना राय दिने क्रममा कार्कीले सो भनाइ राखेका हुन्।
ओलीले पार्टीको आन्तरिक विवादलाई कारण देखाएर विघटन गरेको तर संसदप्रति उत्तरदायी हुने प्रधानमन्त्रीले विघटन गर्नुअघि संसदमा सो विषय फेस (सामना) नगरेको उनले बताए।
‘प्रधानमन्त्री मुख्यतः संसदप्रति उत्तरदायी हुन्छ, तर उहाँले संसदलाई फेस नगरी विघटन नै गरिदिनुभयो,’ कार्कीले भने, ‘विघटन गर्नुअघि अर्को सरकार बनाउने कसरत पनि गरिएन।’
उनले प्रधानमन्त्रीले आफूलाई आफ्नै पार्टीबाट असहयोग भएका कारण संसद विघटन गर्नु परेको तर्क गरेपनि त्यस्तो असहयोग गरेको ठोस आधार नदेखिएको बताए। मुद्दामाथि जारी सुनुवाइमा पक्ष र विपक्षका तर्फबाट बहस सकिएपछि आज मंगलबारदेखि एमिकस क्युरीका तर्फबाट राय लिन सुरु गरिएको हो। अब बुधबारदेखि बाँकी ४ जनाले क्रमशः राय दिनेछन् ।
प्रतिक्रिया दिनुहोस्