संयुक्त आन्दोलन गर्ने विषयमा विभिन्न दलसँग कुराकानी भइरहेको छ : प्रचण्ड

काठमाडौं, फागुन ४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले नेकपाको निर्वाचन चिह्न सूर्य ‘फ्रिज’ नगर्ने बताएका छन् ।

प्रेस सङ्गठन चितवनले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले सूर्य चिह्न फ्रिज गर्न नमिल्ने बताए ।निर्वाचन आयोगले बहुमतलाई नै मान्यता दिने जिकिर गरे ।

अहिलेको सरकारले निर्वाचन नगराउने आरोप लगाउँदै उनले प्रतिनिधिसभा पुनःस्थापना हुनेमा आफूहरु पूर्ण विश्वस्त रहेको पनि बताए । बाँकी रहेको दुईवर्षे कार्यकाल सांसदहरुले गुमाउन नचाहेको उनको भनाइ रहेको थियो ।

अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरे प्रधानमन्त्रीमा आफ्नो दाबी नरहने समेत उनले बताए । साथै अध्यक्ष प्रचण्डले छिट्टै संयुक्त आन्दोलन गर्ने विषयमा विभिन्न दलसँग कुराकानी भएको जानकारी गराए ।

भरतपुर महानगरपालिका–१० मा बन्दै गरेको सभागृहको निरीक्षणपछि उनले आफ्नो निर्वाचन क्षेत्रमा सोचेभन्दा बढी विकास भएको जिकिर पनि गरेका छन् ।

संसद विघटन विरुद्ध अहिले दाहाल नेपाल समुह आन्दोलनमा होमीएको छ । थप आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्