कोरोनाविरुद्धको दोस्रो डोज खोप आठ हप्तापछि मात्रै लगाइने

काठमाडौं, फागुन ३ । नेपालमा दोस्रो चरणको कोरोना खोप अभियान चलीरहेको छ । यसैबीच नेपालमा लगाइएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको कोभिसिल्ड खोपको दोस्रो डोज पहिलो डोज लगाएको ८ हप्तापछि मात्र लगाइने भएको छ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त कुराको जनाकारी दिएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप सल्लाहकार समितिले दोस्रो डोज ८ हप्तापछि मात्रै लगाउन सिफारिस गरेको हो।

यसअघि पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज खोप लगाउने तयारी थियो। समितिका संयोजक तथा खोप विज्ञ डा. श्यामराज उप्रेतीले पहिलो डोज लगाएको ८ हप्तापछि लगाउँदा बढी प्रभावकारी देखिएको नयाँ तथ्य सार्वजनिक भएपछि उक्त सिफारिस गरिएका बताए ।

८ हप्ता देखि १२ हप्ताभित्र दोस्रो मात्रा दियो भने यसको प्रभावकारिता बढी हुने डब्लुएचओले पत्ता लगाएपछि आफुहरुले उक्त सिफारिस गरेको उनले बताए ।

मन्त्रालयका परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले खोप विज्ञ समितिको सिफारिस अनुसार अघि बढ्ने विषयमा केही दिनमा मन्त्रालयमा निर्णय हुने जनाकारी दिएका छन् । नेपालमा लागएको खोप प्रभावकारी मानिएको छ । लगाएकाहरुमा त्यस्तो असर भने अहिले सम्म देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्