प्रधानमन्त्रीसँग अदालत नडराओस्, निष्पक्ष निर्णय गरोस् : गगन थापा

काठमाडौं, फागुन ३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले असंवैधानिक रुपमा संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीसँग अदालत डराउन नहुने बताएका छन् ।

चितवनको भरतपुरमा पार्टीले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै थापाले सर्वोच्चले विना पक्षपात, विना कुनै भय निर्णय गर्नुपर्ने बताएका छन् । सर्वोच्चमा विचाराधीन प्रतिनिधि सभा विघटनको मुद्दातर्फ संकेत गर्दै नेता थापाले आफूलाई सर्वोच्चले निष्पक्ष निर्णय दिनेमा विश्वास रहेको बताए ।

‘विना कुनै पक्षपात, विना कुनै भय यो अदालतले निर्णय गरोस्, मेरो यो अदालत प्रधानमन्त्रीसँग नडराओस्, अदालतले हिम्मत गरोस्, अदालतले संविधानको धारा मात्र हेरोस् ! ’ थापाले भने ।

उनले संविधानमा भएका सबै कुरालाई लिएर यसको रक्षाका लागि सबै उठ्नुपर्ने बताए । उनले अदालतबाट संसद पुनर्स्थापना भएरै छोड्ने विश्वास समेत व्यक्त गरेका छन् । उनले संविधानको विघटन हुँदा त्यसको विरुद्धमा पार्टी एकजुट हुुनुपर्ने समेत बताएका छन् ।

बेलायत, भारत वा अमेरिकाको जस्तो नभई नेपालको आफ्नै खालको मौलिक व्यवस्था राखेर संविधान लेखेको बताउँदै उनले १६५ निर्वाचन क्षेत्रमध्ये बहुमत जितेर आएको प्रधानमन्त्रीलाई २ वर्ष अविश्वासको प्रस्ताव राख्न नपाउने र बहुमत प्राप्त प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिइने व्यवस्था गरेको स्पष्ट गरे ।

उनले प्रधानमन्त्रीको कदमलाई कांग्रेसले कुनै अलमल विना असंवैधानिक भन्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्