निर्वाचन प्रक्रिया अघि नबढाएकोमा आयोगमै शंका गर्नुपर्ने भयो: देउवा, बदमासी गर्नसक्ने आशंका

काठमाडौं, फागुन ३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समयमा निर्वाचन गराउँछ भन्नेमा निर्वाचन आयोगमाथि नै शंका गर्ने बेला भइसकेको बताएका छन्।

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले सोमबार बुटवलमा आयोजित बिरोधसभालाईसम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले आयोगले बदमासी गर्नसक्ने आशंका समेत व्यक्त गरे।

‘निर्वाचन आयोग छ नि निर्वाचन आयोग, त्यसमाथि शंका गर्ने बेला भइसक्यो,’ देउवाले भने, ‘अहिलेसम्म किन चुनाव चिन्ह दिएको छैन। किन निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छैन। यसले बदमासी गर्नसक्छ।’

उनले जुनसुकै समयमा पनि निर्वाचन हुन्छ भनेर सँधै तयारी अवस्थामा रहनु पर्ने आयोगले अहिलेसम्म किन चुनावको काम अघि नबढाएको भन्दै प्रश्न समेत गरे ।

उनले नेकपाको झगडामा कांग्रेसको कुनै भूमिका नभएपनि जारी नेकपाभित्रको झगडाका कारण कांग्रेसभित्र समेत विवाद सुरु भएको देउवाले बताए।

संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले यस्तै निर्णय गर भनेर कसैले प्रदर्शन गरेर दबाब दिन नहुनेमा उनले जोड दिए । नेपाली काँग्रेसले आज संसद विघटनविरुद्ध देशभर पर्दशन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्