जनताको मत लिन जानु कसरी अलोकतान्त्रिक र प्रतिगमन भयो ? प्रधानमन्त्री ओली

काठमाडौँ, फागुन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जान आफूले चालेको कदम लोकतान्त्रिक भएको दाबी गरेका छन् । सिंहदरबारमा सरकारको तीन वर्ष पूरा भएको अवसरमा आयोजित प्रेस ब्रिफिङमा बोल्दै प्रधानमन्त्रीले यस्तो दाबि गरेका हुन् । जनताले दिएको मत अनुसार नै आफुले सरकारको नेतृत्व गरिरहेको उनले बताए ।

साथै उनले आफुलाई जनताका आकांक्षा अनुसार काम गर्न केही शक्तिले नदिएको बताए । यस कारण आफुले पुनः जनताको मत लिन चाहेको उनको भनाइ रहेको थियो । उनले भने जनताको मत लिन जानु कसरी अलोकतान्त्रिक भयो ? कसरी प्रतिगमन भयो ?’ उनले आफूले चालेको कदम जनादेशको अपमान नभई जनादेशको सम्मान रहेको बताए ।

प्रधानमन्त्री ओलीले संसदीय समितिहरुमा विभिन्न विधेयक अल्झाइएको र प्रतिनिधिसभामा विधेयकहरुमाथि छलफल नै नचलाइएका कारण आफूले प्रतिनिधिसभा विघटन गर्नुपरेको स्पष्ट पारे ।

उनले प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुअघि ६४ प्रतिशत सांसदको समर्थन प्राप्त प्रधानमन्त्री भएको नाताले आफूले वैकल्पिक सरकार गठनको सम्भावना नदेखि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताए ।

उनले आफूविरुद्ध संसदीय दलमा वा संसदीय दलको उपनेतासमक्ष समेत कुनै उजुरी नभएको दावी गरे । केही व्यक्तिको साँठगाँठबाट राष्ट्रिय राजनीति प्रदुषित हुने बाटोतिर जान नदिन आफूले पछिल्लो कदम चालेको प्रधानमन्त्री ओलीले प्रस्ट पारे ।

 

प्रतिक्रिया दिनुहोस्