भागरथी हत्या प्रकरण : कहाँ पुग्यो अनुसन्धान ? हत्यारा नजिक पुगेको प्रहरीको दाबी
काठमाडौं, फागुन २ । बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृत फेला परेको आज ११ दिन पुगेको छ । गत माघ २२ गते विभत्स र निर्वस्त्र अवस्थामा स्थानीय लवलेक जङ्गलमा भागरथीको शव फेला परेको थिायो ।
११ दिन बितिसक्दा पनि प्रहरीले हत्यारा अझै पत्ता लगाउन सकेको छैन । घटना अझै पनि अनुसन्धानकै क्रममा रहेको प्रहरीले बताइरहेको छ ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले दोषी पत्ता लाग्छ भन्ने कुरामा ढुक्क हुन गरेका छन् ।
अनुसन्धान लागेको प्रहरीले अनुसन्धानको दायरा साँघुरिँदै गएको बताउँदै छिट्टै दोषी पत्ता लाग्ने जनाएको छ ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी उत्तमराज सुवेदीले घटनाको बृहत र सूक्ष्म अनुसन्धानपछि आफूहरु दोषीको एकदमै नजिक पुगेको बताएका छन् ।
घटनास्थलमा भेटिएका प्रमाणहरुका कारण अनुसन्धानमा सहज भएको बताउँदै बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले अनुसन्धान साघुरिँदै गएकाले अपराधी चाँडै नै सार्वजनिक गर्ने बताए ।भागरथीको शव परीक्षण सकिए पनि अझै आफन्तले बुझ्न मानेका छैनन् । उनीहरु हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने उनीहरुको अडान छ ।
घटनाको अनुसन्धान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी सुवेदीसहित प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी पञ्चकुमार बाँखु र प्राविधिकहरुले गरिरहेका छन् ।
दोषी पत्ता नलागेको भन्दै जिल्लाभर आन्दोलन भैरहेको छ ।स्थानीयले जिल्ला प्रशासन कार्यालय अगाडी घण्ट बजाएर प्रदर्शन गरेका थिए ।















प्रतिक्रिया दिनुहोस्