निर्वाचन आयोगले बोलायो छलफलका लागि नेताहरुलाई , यी विषयमा हुनेछ छलफल

काठमाडौं , फागुन २ । सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचन मिति तोकेको छ । यसका लागि निर्वाचन आयोगले नेताहरुलाई छलफलका लागि बोलाएको छ ।

निर्वाचन आयोगले चुनावी आचारसंहिताबारे छलफल गर्न राजनीतिक दलका नेताहरुलाई बोलाएको हो । आयोगले आइतबार आचारसंहिताको मस्यौदामा राय परामर्श लिनका लागि आयोगले दलहरुलाई छलफलका लागि बोलाएको बताएको छ । संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने विभिन्न १४ वटा दललाई बोलाएको निर्वाचन आयोगले जनाएको छ।

आयोग कार्यालयमा हुने छलफलमा सबै दलका अध्यक्ष, सभापति तथा प्रतिनिधिलाई बोलाइएको छ। दलका नेताहरुको सुझाव लिएर चाँडै निर्वाचन आचारसंहिता सार्वजनिक गर्ने आयोगले जनाएको छ ।
छलफलका लागि आयोगले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवासहित सबै पार्टीका अध्यक्ष तथा सभापतिलाई बोलाएको छ ।
प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ।एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन्।

दुवै पक्षले आधिकारिक नेकपा आफूहरु नै भएको दाबी गर्दै आएपनि निर्वाचन आयोगले भने आधिकारिकताको विवाद टुंगो लगाउन सकेको छैन । प्रतिनिधिसभा विघटन मुद्दाको सर्वोच्च अदालतको संवैधानिक इजलाशमा सुनुवाइ भइरहेको छ। आइतबारदेखि रिट निवेदकका तर्फबाट जवाफी बहस सुरु भएको छ।

 

प्रतिक्रिया दिनुहोस्