प्रधानन्यायाधीशले प्रश्न : यो सरकार केपी ओलीको कि नेकपाको ?

काठमाडौँ, फागुन २ । संसद विघटनसम्बन्धी मुद्दामा आजदेखि जवाफी बहस सुरु भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा भइरहेको सुनुवाइका क्रममा आजदेखि निवेदक पक्षले जवाफी बहस सुरू गरेका छन् ।

निवेदकका तर्फबाट बहस गर्ने वकिलहरुले प्रतिनिधिसभा विघटनको अधिकार प्रधानमन्त्रीसँग नरहेको र विघटन संविधान विपरित रहेको दाबी गरेका छन् ।तर प्रतिरक्षा बहसको क्रममा सरकार पक्षीय वकिलहरुले प्रधानमन्त्रीसँग निहित अधिकारका आधारमा प्रतिनिधिसभा विघटन गरेका कारण संविधान संवत रहेको बताएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध परेका रिटमाथि सर्वोच्चमा संवैधानिक इजलाशमा सुनुवाइ भइरहेको छ ।

गएको माघ ४ गतेदेखि जारी विषय केन्द्रित बहस अन्तर्गत सुरुका दुई हप्ता १३ निवेदकका तर्फबाट वकिलहरुले बहस गरेका थिए । त्यसपछिको दुई हप्ता सरकारका तर्फबाट वकिलहरुले प्रतिरक्षा बहस गरेका थिए । संसद विघटनको प्रतिरक्षामा सरकारी पक्षले बहस गरेपछि त्यसको जवाफमा पुनः रिट निवेदकको तर्फबाट बहस भएको हो ।

जवाफी बहसमा आएका अधिवक्ता दिनमणि पोखरेलले आइतबार पनि बहुमतको प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नेपालको संविधानले नदिएको जिकिर गरे । उनलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रश्न गरे ‘ अहिलेको सरकार केपी ओलीको हो कि नेकपाको ? पोखरेलले नेकपाको हो भनी जवाफ दिए ।त्यसपछि जबराले फेरि प्रश्न गरे ‘नेकपाको हो भने उसँग बहुमत छ । अर्थात् धारा ७६ को उपधारा १ बमोजिमको सरकार हो, अब (सरकार बनाउन) धारा २, ३ र ५ मा जाने अवस्था कहाँ छ संविधानमा ? उपधारामा १ बमोजिम सरकार बनिसकेपछि बाँकी उपधारा त त्यसै लोप भए नि हैन र ?’
जवाफमा अधिवक्ता पोखरेलले सरकार कसरी बन्छ भन्ने विषय संसदीय प्रक्रियामा मात्र थाहा हुने बताए ।

‘यो हामीले चिन्ता गर्ने विषय होइन श्रीमान् । प्रक्रियामा गएपछि संसदले हेर्छ । नेकपाले अर्को संसदीय दलको नेता दिनै सक्दैन ? त्यति निकम्मा भैसक्यो नेकपा ? प्रोसेसबाट सरकार नआउने अवस्था हुनुप¥यो विघटनमा जान’ उनले भने ।

पोखरेलले धारा ७६(१) को सरकारले काम गर्न नसके राजीनामा दिनुपर्ने र त्यसपछि अर्को ७६(२), (३) र (५) बमोजिमका सरकार बन्न सक्ने बताए । ‘प्रधानमन्त्री आउन सकेन, (सरकार) बन्न सकेन भने छुट्टै कुरा हो तर ७६(१) ले विघटन अधिकार हो भन्न सक्दैन’ उनले भने ।

यता प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको नेकपाको दाहाल नेपाल समूहले आन्दोलनमै होमीएको छ । आज पनि यो समुहले तेस्रो चरणको आन्दोलन घोषणा गर्दैछ । यसका लागि पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्