पर्सामा भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप , दुई प्रहरी घाइते
काठमाडौं, माघ ३० । वीरगञ्जमा भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ । भारतीय बालुवा तस्करको आक्रमणबाट दुई सशस्त्र प्रहरी घाइते भएका छन्।
शुक्रबार बिहान भारतीय बालुवा तस्करले नेपाली भूमिमा छिरेर बालुवा उत्खनन गर्न थालेपछि रोक्ने क्रममा दुई सशस्त्र प्रहरी घाइते भएका हुन्।
भारतसँग सीमा जोडिएको पर्साको जीराभवानी गाउँपालिका–१ पिपरडारीस्थित ओरीया खोलामा शुक्रबार बिहान भइरहेको बालुवा तस्करी रोक्ने क्रममा सशस्त्र प्रहरीका २४ वर्षीय आयुष राय यादव र अन्दाजी २५ वर्षीय नरेश यादव घाइते भएको पर्साका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए। उनका अनुसार तस्करहरुले सशस्त्र प्रहरीकमाथि बेल्चा प्रहार गरेका थिए।
आयुषको कन्चटमा चोट लागेको छ भने नरेशको देब्रे हात भाँच्चिएको छ। उनीहरु दुवै जनाको नारायणी अस्पतालमा उपचार भइरहेको छ।
शुक्रबार बिहान सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट पिडारीगुठी र महादेवपट्टीबाट सशस्त्र प्रहरीको २२ जनाको टोलीले बालुवा उत्खनन् गर्दै गरेका तीन वटा ट्याक्टर नियन्त्रणमा लिएपछि भारतीयहरुको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको हो।
५०र६० जनाको समूहमा आएका भारतीयहरुको समूहले सशस्त्र प्रहरीमाथि लाठी, भाटा, बेल्चा तथा ढुंगाले हान्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो। उक्त समूहले नियन्त्रणमा लिएका ट्याक्टर पनि खोसेर लगेको प्रहरीले जनाएको छ। अहिले त्यस ठाउँको अवस्था सामान्य भइसकेको छ ।
पर्साको जगरनाथपुर गाउँपालिकाको पिपडारीमा पर्ने ओरिया खोलाबाट वर्षेनि भारतीय बालुवा तस्करले बालुवा उत्खनन् गरेर लैजाने गरेका छन् । ओरिया खोलामा वर्षौदेखि नेपाली भूमिमा प्रवेश गरी नदिजन्य पदार्थ उत्खनन् गरी लैजाने गरे पनि सुरक्षा निकायले रोक्न सकेको छैन । जसका कारण भारतीय बालुवा तस्करसँग पटक–पटक विवाद र झडप हुने गरेको छ ।











प्रतिक्रिया दिनुहोस्