जुलुसमा नारा लगाएर अदालतलाई यही गर् भन्न मिल्दैन: सभापति देउवा

काठमाडौँ, माघ २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघट्नको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा जुलुसमा नारा लगाएर अदालतलाई यही गर् भन्न नमिल्ने बताएका छन् ।

पार्टीको आदिवासी जनजाति केन्द्रीय विभागले आज आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने, ‘अदालतमा मुद्दा छ, नारा लगाएर यही गर् भन्न मिल्दैन, हामी त्यस्तो गर्दैनौँ, जुलुसले हुने भए किन चाहियो अदालत ।’

सभापति देउवाले कांग्रेस निर्वाचनमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी भएको बताउँदै संसद् पुनःस्थापना र निर्वाचन दुवैका लागि तयार हुनुपर्ने बताए ।

आफूले जान्दाजान्दै हार्ने निर्वाचन पनि गराएको स्मरण गर्दै उनले भने, ‘दुई वर्षपछि भए पनि अहिले भए पनि मुलुकमा निर्वाचन हुन्छ, लोकतान्त्रिक पार्टी निर्वाचनका लागि सधैँ तयार हुनुपर्छ ।’

सभापति देउवाले पार्टीले गरेको समावेशी व्यवस्थाका बारेमा सबै समुदायको तल्लोस्तरमा पुगी सो बारेमा प्रचार गर्न र कांग्रेसको पक्षमा माहोल बनाउन नेता कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् ।

उनले कांग्रेसले आफ्नो विधानमा महिला, आदिवासीरजनजाति, दलित, थारू, मधेसी, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसङ्ख्यक समुदाय सबैलाई उचित आरक्षणको व्यवस्था गरी सबैभन्दा समावेशी पार्टी बनेको बताए ।

कार्यक्रममा पार्टी उपभापति विमलेन्द्र निधिले सरकारले प्रतिनिधिसभा विघटन गरेको कार्यविरुद्ध वडास्तरसम्म राष्ट्रव्यापी कार्यक्रम गरेको बताए । यति बेला सरकारविरुद्ध आन्दोलन भइरहेको छ । नेपालको राजनीतिमा उथलपुथल आएको छ । नेकपा समुह दुई समुहमा विभाजित भएको छ ।

प्रतिक्रिया दिनुहोस्