विप्लव नेतृत्वको नेकपासहित चार दलद्वारा संयुक्त मोर्चाबन्दीको घोषणा

काठमाडौं, माघ ३० । विप्लव नेतृत्वको नेकपासहित चार दलले संयुक्त मोर्चाबन्दीको घोषणा गरेका छन् ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले बिहीबार संयुक्त मोर्चाबन्दीको घोषणा गरेका हुन्।

बिहिबार राजधानीमा आयोजित कार्यक्रमा उनीहरूले संयुक्त रूपमा संघर्षका कार्यक्रमसमेत घोषणा गरेका छन्।

दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्था र राज्यसत्ताको अन्त्य गरी जनगणतन्त्ररवैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु चार पार्टीबीचको संयुक्त मोर्चाको उद्देश्य रहेको मोर्चाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रणनैतिक संयुक्त मोर्चा निमार्ण गर्ने पूर्वसहमतिलाई व्यवहारिक रुप दिन उनीहरुले रणनैतिक संयुक्त मोर्चाको अवधारणा र संरचना सम्बन्धी दस्ताबेज पारित गर्दै १५ सदस्यीय रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समिति गठन गरेका छन्।

समितिमा सिपी गजुरेल, ऋषिराम कट्टेल, जागृत रायमाझी, धनकुमारी सुनार लगायत १२ जनाको नाम सार्वजनिक गरिएको छ ।

मोर्चाले पहिलो चरणको संघर्षका कार्यक्रमहरु तय समेत गरेको छ । जस अनुसार फागुन ६ गते बुटवलमा, १४ मा धनगढी र १८ मा इटहरीमा जनसभा गर्ने र पहिलो चरणका कार्यक्रमपछि दोस्रो चरणका संघर्षका कार्यक्रम सार्वजनिक गर्ने मोर्चाले विज्ञप्तिमार्फत् जनाएको छ।

प्रतिक्रिया दिनुहोस्