अब पीसीआर शुल्क एक हजारमात्र

काठमाडौँ , माघ २९ । सरकारले कोभिड-१९ को परीक्षणका लागि गरिने पीसीआर शुल्क समायोजन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पीसीआर शुल्क एक हजार रुपैयाँ लिने जानकारी दिए । यसअघि पीसीआर परीक्षण शुल्क दुई हजार लिने गरेको थियो ।

यस्तै अबदेखि कोभिड-१९ को उपचार सरकारी अस्पतालमा मात्र गर्ने भएको छ । यसअघि निजी अस्पताल र मेडिकल कलेजमा पनि कोभिड-१९ को उपचार गराइरहेको सरकारले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीसहित सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा बुधबार बसेको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’को बैठकले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले यसअघि कोभिड-१९ को उपचारका लागि तोकिएका मेडिकल कलेजमा आजसम्म भर्ना भई उपचार रहेका कोभिड-१९ का संक्रमितको १० दिनको मात्र शोधभर्ना उपलब्ध गराउने भएको उनले बताए ।

हालसम्म नेपालमा दुई लाख ७२ हजार ३४९ संक्रमित भएका छन् । यस्तै दुई लाख ६८ हजार ५४९ निको र दुई हजार ४७ जना संक्रमितबाट निधन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्