ओलीको जवाफ दिँदै प्रचण्डले भने- केपीजी देख्नुभयो सभा कस्तो हुँदोरहेछ ?

काठमाडौं , माघ २८ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सभा कस्तो हुँदोरहेछ देख्नुभयो भनेर प्रश्न गरेका छन् ।

काठमाडौंमा बुधबार आयोजित सभामा बोल्दै प्रचण्डले यस्तो प्रश्न गरेका हुन् । केही दिनअघि ओलीले सभा कस्तो हुन्छ देखाउने सन्दर्भको जवाफमा प्रचण्डले “केपीजी देख्नुभयो सभा कस्तो हुँदोरहेछ रु” भनेर प्रश्न गरेका हुन् ।

आजको सभामा प्रचण्डले करिब पाँच लाख मानिसको उपस्थिति रहेको बताए । आजको सभालाई सर्वोच्च अदालतका न्यायाधीशहरूले पनि देखेको हुनुपर्ने उनले बताए ।

“मलाई लाग्छ, आजको सभाले सम्मानित अदालतलाई सहज भएको छ । देश र जनताको पक्षमा फैसला गर्न सहज भएको छ । त्यसो भएन भने आँधी आउँछ । हिजो सानो समूहले विद्रोह गर्दा के भयो ?  अब नेपालमा ‘ग्रीन रिभोलुसन’ हुन्छ । यत्रो जनताको आवाजलाई नसुन्ने ? सानो समूहको कुरा सुन्ने हुनसक्छ ? ”

ओलीले सभा भनेको कस्तो हुन्छ माघ २३ गते देखाउने बताएका थिए । त्यसअनुसार ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो ।

प्रचण्डले आजको उपस्थितिले अदालतलाई पनि सहज भएको टिप्पणी गरे । उनले अब सिंहदरबार र बालुवाटार घेर्न लाखौं जनता जम्मा पार्ने पनि चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्