प्रतिगमन नसच्चिए जनता विद्रोहमा उत्रिनेछन्: जनार्दन शर्मा
काठमाडौंमाघ २८ । नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले शन्तिपूर्ण विरोधबाट प्रतिगमन नसच्चिए जनविद्रोह हुने चेतावनी दिएका छन् ।
प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा (प्रचण्ड–नेपाल समूह)ले बुधवार काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता शर्माले यस्तो चेतावनी दिएका हुन् । उनले त्यस्तो विद्रोहले गणतन्त्रविरोधी र संघीयताविरोधीलाई समाप्त पार्ने चेतावनी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र र संघीयतासँग पद साटेका कारण आफूहरू सडक आन्दोलनमा उत्रिनुपरेको उनले बताए । यस्तै सभामा नेकपा दाहाल नेपाल समूहका नेता देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण नेपालको संविधान कोमामा गइसकेको बताएका छन् ।
‘यो संविधान कोमामा गइसकेको छ । केपी ओलीले मनलाग्दी गरेको छ । संवैधानिक नियुक्ति भइरहेको छ, कामचलाउ सरकारले कुनै पनि नियुक्ति गर्न सक्दैन,’ उनले भने, ‘मनपरि शासन गरिरहेको छ । मुलुकको रक्षाको लागि, संविधानको रक्षाको लागि सम्पूर्ण नेपाली एक हुन जरुरी छ । यदि यसो भएन भने संविधान, गणतन्त्रण विस्थापित हुनेछ ।’
उनले ताजा जनादेशको नाममा पाँच वर्ष नपुग्दै चुनाव गराउने व्यवस्था संविधानमा नरहेको पनि बताए ।















प्रतिक्रिया दिनुहोस्