भ्रष्टाचारीमा त्रास पैदा हुने गरी काम गर्न अख्तियारलाई प्रधानमन्त्री ओलीको सुझाव
काठमाण्डौ, माघ २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराधी र भ्रष्टाचारीमा त्रास पैदा हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काम गर्न सुझाव दिएका छन् । आयोगको ३० औँ स्थापना दिवसका अवसरमा भएको कार्यक्रममा उनले यस्तो सुझाव दिएका हुन् ।
देश र नागरिकलाई शिरमा राखेर काम गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले त्रासबाट मुक्त भएर अपराधी र भ्रष्टाचारीमा त्रास पैदा हुने गरी काम गर्न सुझाव दिए । उनले आयोगमा सरकारका तर्फबाट कुनै हस्तक्षेप नहुने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग लाचार छाया नभएको समते बताए ।
प्रधानमन्त्री ओलीले राज्यका सबै निकायका प्रतिनिधि क्रियाशील भएमा देशको भ्रष्टाचार अन्त्य गर्न सहज हुने विश्वास व्यक्त गरे । कानुनको नजरमा सबै बराबर भएकाले दोषीलाई कानुनअनुसार कडा कारबाही हुने उनले बताए ।
आयोगले गरेको सफलता सकारात्मक भए पनि आयोगले दायर गरेको मुद्दा फरक पर्ने गरी दायर गर्न नहुनेमा प्रधानमन्त्री ओलीले जोड दिए । निर्दोष मान्छेमाथि मुद्दा दायर भएमा त्यसले प्रतिकूल असर पार्ने भन्दै उनले त्यसमा सचेत हुन आयोगलाई सुझाव दिए ।
साथै उनले सञ्चारमाध्यमले पनि कसैलाई जबरजस्ती भ्रष्ट सावित गर्न नहुने बताए । ओलीले भ्रष्टाचार सम्बन्धी समाचार लेख्दा सञ्चार माध्यमलाई जिम्मेवार हुन आग्रह गरेका छन् । भ्रष्टाचार नगरेका व्यक्तिलाई जसरी पनि भ्रष्टै देखाउने गरी समाचार लेख्न नहुने उनको सुझाव छ ।
प्रतिक्रिया दिनुहोस्