प्रचण्ड-नेपाल पक्षको सभालाई १४ नेताले सम्बोधन गर्ने
काठमाडौँ , माघ २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले बुधबार काठमाडौंमा विरोध प्रदर्शन सुरु गरेको छ ।
प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको दोस्रो चरणको आन्दोलन अन्तर्गत प्रचण्ड(नेपाल पक्षले आज काठमाडौँमा विरोध प्रदर्शन गरिरहेको छ ।
पार्टीले उपत्यकाका विभिन्न पाँच स्थान माइतीघर, जमल, त्रिपुरेश्वर, केशरमहल, पुल्चोकबाट जुलुस निकालेको छ भने सबै जुलुस सुन्धारामा भेला भएर भृकुटीपण्डप पुगेर सभामा परिणत हुने बताइएको छ ।
सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहित वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत १४ नेताहरुले सम्बोधन गर्ने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् ।
सभालाई केन्द्रीय सदस्य अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झॉक्री, रामचन्द्र झा, सन्तकुमार चौधरी स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा, देव गरुङ, रघुजी पन्तले पनि सम्बोधन गर्ने छन् ।
त्यस्तै कार्यक्रमको अध्यक्षता केन्द्रीय सदस्य हितबहादुर तामाङ, स्वागत जीवनराम श्रेष्ठ र सञ्चालन स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले गर्दैछन् ।















प्रतिक्रिया दिनुहोस्