प्रचण्ड- नेपाल समुहको पाँच स्थानबाट सुरु भयो जुलुस

काठमाडौं, माघ २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको जुलुस सुरु भएको छ। प्रतिनिधिसभा विघटनको विरोधमा यो समुहले निरन्तर प्रदर्शन गरिरहेको छ ।

दाहाल–नेपाल समूहले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सभाको आयोजना गरेको छ । विरोधसभाअघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिएको छ ।

विभिन्न नारासहित त्रिपुरेश्वर, कालीमाटी, नयाँ बानेश्वर, माइतीघर, लैनचौर, बागबजार, मैतीदेवीलगायत विभिन्न स्थानबाट जुलुस निकालिएको छ।

सभालाई नेकपाका दाहाल, नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत शीर्षनेताले सम्बोधन गर्ने बताइएको छ।प्रतिनिधिसभा विघटन भएसँगै त्यसको विरोधमा दाहाल–नेपाल समूहले प्रदर्शन तथा सभा गर्दै आइरहेको छ।

आज सभामा सहभागी हुन देशका विभिन्न स्थानबाट कार्यकर्ता आएका छन् । यसअघि उक्त समूहले यही माघ ९ गते राजधानीमा प्रदर्शन गरेको थियो।

यता अर्को समुह माघ २३ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले बृहत् आमसभा गरेको थियो । प्रचण्ड नेपाल समुहको प्रदर्शनले काठमाडौंको सडक भने अस्तव्यस्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्