निर्वाचनको तयारी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, माघ २७ । सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचन गर्ने मिति तोकेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा निर्वाचन गराउने निर्णय गरेको हो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनको तयारी तीब्र पार्न निर्वाचन आयोगलाई निर्देशन दिएका छन् ।

आयोगले निर्वाचनको तयारीका लागि गरिरहेको कामको जानकारी लिन आयोग पुगेका प्रधानमन्त्रीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र आयुक्तहरुसँग छलफल गरी निर्वाचनको तयारी तीव्र पार्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्रीलाई निर्वाचन आयोगका प्रमुख आयुक्त थपलियाले अहिलेसम्म गरेको कामको जानकारी प्रधानमन्त्रीलाई गराएको बताउँदै थापाले आयोगको काम प्रति प्रधानमन्त्री सन्तुष्ट रहेको बताए । यता आयोग पुगेका प्रधानमन्त्री केपी शर्मा ओली आगामी निर्वाचनबारे जानकारी लिएर राष्ट्रपति निवास शीतल निवास पुगेका छन् ।

आयोगलाई निर्वाचन तयारी गर्न र सरकारको तर्फबाट सबै सहयोग हुने बताएका ओली त्यतैबाट राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीले राष्ट्रपतिलाई सोमबारको मन्त्रिपरिषदका निर्णयबारे जानकारी गराएका छन् । खास गरि निर्वाचनको विषयमा छलफल गर्न ओली शीतल निवास गएको बताइएको छ । यता गत माघ १६ गते नेकपाका दुवै पक्षलाई आयोगले बोलाएको थियो । आयोगले बोलाएपछि प्रचण्ड(माधव नेपाल पक्ष आयोग कार्यालय पुगेका थिए ।

सो समूहले नेकपाको आधिकारिकता माग दाबी गर्दै आयोगमा पत्र नै बुझाएको थियो । तर प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष भने आयोगले बोलाएको समयमा गएका थिएनन् । उनले आफ्नो तर्फबाट अन्य नेताहरूलाई आयोग पठाएका थिए ।

नेकपाका दुवै पक्षका नेताहरूले आफूहरू मूल पार्टी रहेको दाबी गर्दै आएका छन् । तर आयोगले दुवै पक्षको दाबी नपुगेको बताउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्