चार दिनपछि पक्राउ परे गोली हानेर आफ्नै छोरीको हत्या गरी फरार महरा

काठमाडौं, माघ २७ । गोली हानेर आफ्नै छोरीको हत्या गरी फरार रहेका महरा चार दिनपछि समातिएका छन् । आफ्नै छोरीलाई गोली हानेर फरार रहेका बैतडीको पुर्चौडी नगरपालिका–१० का धनबहादुर महरालाई प्रहरीले पक्राउ गरेको हो ।

अभियुक्त महरालाई मंगलबार दिउँसो दोगडाकेदार गाउँपालिका–८, माल्लेखबाट नियन्त्रणमा लिइएको
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले बताए

बहुविवाह गरेका धनबहादुर र उनकी श्रीमतीबीच भएको झगडा छुट्याउने क्रममा माइतीघर बसिरहेकी पुर्चौडी नगरपालिका–३ जोग्गौडाकी २० वर्षीया छोरी बेलमती धामी महरामाथि धनबहादुरले गोली प्रहार गरेका थिए । त्यस लग्तै छोरीको मृत्यु भएको हो । घटनापछि फरार धनबहादुरलाई चार दिनपछि प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो।

उनले लिएर हिँडिरहेको बन्दुक भने अझै फेला नपरेको प्रहरी निरीक्षक धामीले बताए । गोली लोड गरिएको भरुवा बन्दुकसहित फरार धनबहादुरले छोरीको हत्यापछि पनि शनिबार राति गाउँमा आतंक मच्चाएका थिए। सोही रात उनले आफ्नै घरमा आगजनी गर्नुका साथै बन्दुक देखाउँदै स्थानीयलाई धम्क्याएका थिए।

पक्राउ परेका महरालाई ईलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ।उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा र हतियार खरखजनाअन्तर्गत मुद्दा चलाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्