डिभिजन टू : अन्तिम चरणको तीन खेल आज, नेपाललार्इ खेल जित्नै पर्ने दवाव
काठमाडौं । आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तर्गत राउण्ड रोविन लिगका अन्तिम ३ खेल आज हुँदैछन्। नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। यस्तै युएई र नामिबियाबीच पनि खेल हुनेछ। यी दुई खेल अघोषित सेमिफाइनल जस्तै छन्। जित्ने टिम शीर्ष दुई स्थानमा रहँदै वान डे वर्ल्डकपको क्वालिफायर र डिभिजन टू को फाइनलमा पुग्नेछन्।
क्यानडा, नामिबिया र नेपालको समान ३ अंक छ। रनरेटमा क्रमश: पहिलोदेखि तेस्रो स्थानमा छन्। युएई ४ अंकका साथ चौथो स्थानमा छ।
यस्तै आजै ओमान र केन्याबीच पनि खेल हुँदैछ। लगातार चार खेल हारेर अंकविहीन भएको केन्या डिभिजन थ्री मा घटुवा भइसकेको छ। ओमानको पनि ओपचारिकता मात्र बाँकी छ।
डिभिजन टू को पाँचौ र छेटौँ स्थानमा रहने टोली डिभिजन थ्री मा घटुवा हुनेछ।
नेपाललाई डिभिजन टू को शीर्ष दुईमा स्थान बनाउन आज क्यानडाविरुद्ध जित्नैपर्ने दबाब छ। पराजयले नेपाल डिभिजन टू मै यथावत रहने सम्भावना बढी छ। नेपाल र क्यानडाबीचको खेलमा विन्डहोकस्थित वन्डर्रस मैदानमा दिउँसो सवा १ बजे सुरु हुनेछ।
नेपाल पराजित भएमा र युएईले नामिबियालाई हराएमा तिन टिमको समान ६ अंक हुन्छ। तर नेपाल रनरेटमा धेरै पछि रहेका कारण नेपाल युएई र नामिबायाभन्दा अंक तालिकामा पछि पर्नेछ।
प्रतिक्रिया दिनुहोस्