संसद विघटनविरुद्ध दायर रिटमाथि सरकारी वकिलहरुको बहस आज पनि जारी : १५ मिनेटको समय निर्धारण

काठमाडौं , माघ २५ । संसद विघटनविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा आजको बहस जारी नै रहेको छ ।  १९ माघदेखि सरकारी वकिलहरुले सरकारको पक्षमा बहस गर्दै आएका छन् ।

आज पनि यो बहस निरन्तर जारी नै रहेको छ । आजबाट सरकारी वकिलहरुलाई बहस गर्न १५ मिनेटको समय निर्धारण गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले १५ मिनेट समय निर्धारण गरेका हुन् ।

संसद विघटन गैरसंवैधानिक भएको दाबीसहित १३ वटा रिट दायर भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

संसद विघटन संवैधानिक वा असंवैधानिक भन्ने विषयमा केन्द्रित भएर माघ ४ गतेदेखि बहस सुरु भएको थियो । रिट निवेदकका तर्फबाट झण्डै ७० जनाले बहस गरेका थिए ।

यता संसद विघटन असंवैधानिक भएको भन्दै देशमा आन्दोलन भइरहेको छ । नेकपाका प्रचण्ड नेपाल समुह र कांग्रेस तथा अन्य दलहरुले आन्दोलन गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्