बैतडीमा एक किशोरीको बलात्कारपछि हत्या : प्रचण्ड–नेपालले भने- निर्मला पन्त प्रकरणमा जस्तो नहोस्
काठमाडौं, माघ २४ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बैतडीमा एक किशोरीको बलात्कारपछि हत्या भएको घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।
शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले सो घटनालाई पासविक र अमानवीय कुकृत्यको संज्ञा समेत दिएका छन् ।
अध्यक्षद्वयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विगतमा निर्मला पन्तको अनुसन्धान जस्तै यो घटनामा गैरजिम्मेवार नबन्न सरकारसँग आग्रह गर्दै घटनाको सत्य–तथ्य सार्वजनिक गरी दोषिमाथि कडाभन्दा कडा कारवाही गर्न माग गर्दर्छौं ।’
अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले शनिबार विज्ञप्ति गर्दै घटनाले आफूहरु स्तब्ध भएको बताएका छन् । ‘विद्यालयबाट घर फर्किँदै गरेको बेला वर्ष १७ की किशोरी भागरथी भट्टमाथि भएको पाशविक र अमानवीय कुकृत्यको हामी घोर भत्र्सना गर्दछौं’ उनीहरुले भनेका छन् ।
कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषीहरु पक्राउ नपर्दै भएको बैतडीको यो घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्य संयन्त्र असफल भएको प्रमाणित भएको प्रचण्ड(माधव समूहले बताएको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी निवासी भागरथी भट्टको गत २२ गते बलात्कारपछि हत्या भएको थियो । विद्यालयबाट घर फर्किदै गरेको बेला १७ वर्षीया किशोरीमाथि कुकृत्य भएको हो । यता घटनामा प्रहरीले शंकास्पद व्यक्तिमाथि निगरानी बढाउँदै अनुसन्धानलाई तिव्र बनाएको छ।
एसएसपीको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका अधिकारी समेत सम्मिलित प्रहरी टोलीले घटनास्थलमै पुगेर अनुसन्धानलाई तिव्र बनाएको सुदूरपश्चिम प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए।
उनकाअनुसार बलात्कारपछि किशोरीको हत्या गरिएको आशंकामा शंकास्पद व्यक्तिहरुमाथि निगरानी बढाउँदै अनुसन्धान जारी राखिएको छ।
शंकास्पद ६ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताउँदै प्रहरी वरिष्ठ उपरीक्षक सिंहले अन्य व्यक्तिमाथि समेत निगरानी भइरहेको बताए।
प्रतिक्रिया दिनुहोस्