कैलालीमा माटोको ढिस्कोमा पुरिएर तीन महिलाको मृत्यु

 

काठमाडौं, माघ २४ । कैलालीको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु भएको छ ।

घर लिपपोतका लागि माटो लिन गएका खैरीफाँटाका ३१ वर्षीया गङ्गा जैगडी, २० वर्षीया भावना ओड र १७ वर्षीया धनसरी विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसुदन न्यौपानेका अनुसार घटनामा परी माटो खन्न गएका दुई जना घाइते भएका छन् । घाइते हुनेमा काजल विक र अञ्जु जैगढी रहेका छन् । घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।

कैलाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा घर लिपपोतका लागि आवश्यक माटो खन्ने क्रममा वर्षेनी महिलाको ज्यान जोखिममा पर्ने गरेको छ ।

दाङमा दुर्घटनामा परेर ३ जनाको ज्यान गयो

दाङमा छुट्टाछुट्टै सडक दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । दङ्गिशरण गाउँपालिकाको रगैचा र लमहीमा शुक्रबार भएका दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको हो ।

विपरित दिशाबाट आइरहेको रा १ त २४४३ नम्बरको ट्याक्टर र रा ६ प १४३४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवारमा दङ्गिशरण गाउँपालिका ४ बस्ने दिनेश खड्का र सोही ठाउँका विवेक थापाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख थम्मन जिशीले जानकारी दिए ।

त्यस्तै लमहीमा आफूले चलाएको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । लमहीको अर्जुन खोलाको किनारबाट कमानपुरतर्फ जाँदै गरेको रा १ त ३१७४ नम्बरको ट्याक्टर लोड गरेर उकालोतर्फ जाँदै गर्दा लोड गरिएको ट्रालीले घाँटी थिचिँदा चालक लमही ७ बस्ने हेमन्त गिरि मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्