अहिलेसम्म एक लाख ७१ हजारले लगाए कोरोना खोप, संक्रमितको संख्या घट्दो क्रममा

काठमाडौँ , माघ २४ । कोभिड-१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ अहिलेसम्म एक लाख ७१ हजार ४८६ जनाले लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २०१ खोपकेन्द्रबाट अहिलेसम्म एक लाख ७४ हजार ४८६ जनाले लगाएको जानकारी दिए । उनका अनुसार प्रदेश नं. १ मा २३ हजार ८२ जना, प्रदेश नं। २ मा २२ हजार ७५६ जना, वाग्मती प्रदेशमा ५९ हजार ९४२ जना, गण्डकी प्रदेशमा १७ हजार ३१५ जना, लुम्बिनी प्रदेशमा २६ हजार ८९८ जना, कर्णाली प्रदेशमा आठ हजार ६८४ जना र सुदूरपश्चिम प्रदेशमा १२ हजार ८०९ जनालाई खोप दिइएको छ ।

यही माघ १४ गतेबाट पहिलो चरणमा प्राथमिकता परेका व्यक्तिलाई लगाउँदै आएको खोप शनिबार समापन गरिँदैछ । प्रवक्ता डा गौतमले खोपको दोस्रो चरणबारे चाँडै जानकारी गराइने बताए । यता देशभर कोरोना भाइरस संक्रमितको संख्या दैनिक घट्दो क्रममा रहेको छ ।

केही दिनदेखि संक्रमितको संख्या दैनिकजसो तीन सयभन्दा तल झरेको छ । संक्रमित संख्या दैनिक न्यून हुँदै जानुलाई सुखद रूपमा हेरिएको छ । यद्यपि चिकित्सकले सतर्कता अपनाउन सुझाव दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्