नरभक्षी आन्दोलनका दिन गए, मूल पार्टी हाम्रै हो: प्रधानमन्त्री ओली

काठमाडौं, माघ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको मूल पार्टी आफू नेतृत्वको नेकपा भएको बताएका छन् । उनले आफू नेतृत्वको पार्टी नै देशको मूल पार्टी पनि भएको दाबि गरे  । आज नारायणीहिटीमा आयोजित सभामा आफू नेतृत्वकै पार्टी नै सक्कली भएको दाबि गरेका हुन् ।

उनले भने, ‘मूल पार्टी कुन हो ?  अझै पनि कोही अलमलमा छ भने कठैबरा भन्नुपर्छ । यही हो मूल पार्टी । देशकै मूल पार्टी हो । देशकै सबैभन्दा ठुलो पार्टी । देश बनाउने पार्टी हो । सार्वभौमसत्ताको रक्षा गर्ने पाटी हो ।’

उनले यो पार्टी लोकतन्त्रका लागि सात दशकदेखि संघर्ष गरेर आएको पार्टी, देश बनाउने संकल्प बोकेको पार्टी भएको हुनाले यो पार्टी नै मुल पार्टी भन्दै आजैबाट मुल पार्टी कुन हो भन्ने र सक्कली कुन हो भन्ने टुंगिएको बताए ।

साथै प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव पक्षलाई नरभक्षी आन्दोलन नगर्न चेतावनी दिएका छन् । उनले अब नरभक्षी आन्दोलनको दिन गएको पनि बताए । नेपाल बन्दको नाममा बिहीबार एउटा गरिब ट्याक्सी चालकलाई जिउँदै जलाउन खोजेको उनको आरोप छ।

नेपालमा आजको जस्तो ठूलो सभा इतिहासमा कहिल्यै नभएको भन्दै यो सभाबाट कुन पार्टी मूल पार्टी हो भन्ने टुंगो लागेको उनको दावी छ। प्रधानमन्त्री ओलीले जनतालाई हेर्ने सरकार भएको बताउदै जनतालाई ढुक्क हुन आग्रह गरे ।

साथै उनले सभालाई बिफल पार्न बिहीबार नेपाल बन्दको नाटक मंचन गरेर श्रमिक जनतालाई दुख दिएको बताए । प्रधानमन्त्रीले आफ्नो सभालाई बिफल पार्न बाटा बाटामा खाल्डा खनिएको र कतिपय ठाँंउमा बम राखेर बिप्लव लेखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्