सुरु भयो ओली पक्षको शक्ति प्रदर्शन : काठमाडौंका विभिन्‍न ठाउँबाट निकालियो जुलुस

काठमाडौं, माघ २३ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपीशर्मा ओली समूहले आज शक्ति प्रदर्शन गर्दैछ । यसका लागि नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडक हुने जनसभाका लागि विभिन्न १६ ठाउँबाट जुलुस निकाल्न सुरु गरिएको छ ।

जनसभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका बागबजार, प्रदर्शनी मार्ग, महेन्द्र शालिक पूर्व, घण्टाघर, नेपाल एअरलाईन्स अगाडि, त्रिपुरेश्वर, गौशाला, माइतीघर, पुतलीसडक, लैनचौर, सोह्रखुट्टे नयाँ रोड, टेकु, बसन्तपुर, सोह्रखुट्टे, ज्ञानेश्वर, पुरानो बानेश्वर लगायतका स्थानबाट र्‍याली निकालिएको छ।

काठमाडौंका साथै बागमती प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थक सहभागी भएका छन्।कमिटीले प्रतिनिधिसभा विघटन भइ निर्वाचन घोषणा गरिएको नयाँ परिस्थिति, नयाँ राजनीतिक घटनाक्रमबारे जनस्तरमा सन्देश दिन जनसभाको आयोजना बागमती प्रदेश कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले जानकारी दिए।

जनसभालाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत मन्त्री र नेताहरुले सम्बोधन गर्ने भएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव पक्षले काठमाडौंमा गरेको शक्ति प्रदर्शनलाई ‘सामान्य भन्दै २३ गते वास्तविक जनप्रदर्शन हुने दावी गरेका थिए। गत पुस ५ गते प्रतिनिधिसभा विघटन भइ आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन तोकिएको छ।

कार्यक्रमको प्रचारका लागि बिहीबार साँझ काठमाडौंमा महेश बस्नेत नेतृत्वको स्वयंसेवक परिचालन कमिटीले वाल्मीकी कलेजबाट मार्चपास गरेको थियो। यो सभालाई चासोका रुपमा पनि हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्