नेकपा ओली समूहको आज काठमाडौँमा बृहत आमसभा, क-कसले गर्दैछन् सम्बोधन ?

काठमाडौँ, माघ २३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले आज काठमाडौँ ‘बृहत् सभा’ सहित शक्ति प्रदर्शन गर्दैछ ।

‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा गर्न लागिएको हो ।

सभामा काठमाडौं उपत्यकासहित बागमती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक आउने नेकपा बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले जानकारी दिए ।

सभा सम्पन्न गर्न पार्टी काठमाडौं उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा १ हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।नेकपा ओली समूहको बागमती प्रदेश सङ्गठन अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा २ लाखभन्दा बढी मानिस सहभागी हुने बताए ।

मध्याह्न १२ बजेपछि हुने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्नेछन् । सभा हुनुभन्दा अगाडि काठमाडौं उपत्यकाका १३ स्थानबाट जुलुस निकालिने जनाइएको छ ।

जुलुसमा साङ्गीतिक प्रस्तुतिसहित कलाकारहरू पनि सहभागी हुनेछन् ।यसअघि ९ माघमा नेकपाको अर्को समूह प्रचण्ड(नेपाल समूहले गरेको प्रदर्शनको काउन्टरका रुपमा आज ओली समूहले यो प्रदर्शनलाई लिएको छ ।

प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने यो सभालाई विशेष चासोका साथ हेरिएको छ । पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि सत्तारूढ दल आगामी वैशाख १७ र २७ मा घोषित मध्यावधि चुनावलाई केन्द्रित गर्दै शक्ति प्रदर्शनमा उत्रिएको छ ।

नेकपाकै दाहाल-नेपाल खेमा ओलीले प्रतिगामी कदम चालेको भन्दै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सडक संघर्षमा छ ।

प्रतिक्रिया दिनुहोस्