जनकपुरमा प्रहरी र आन्दोलनकारीबीच झडप, केन्द्रीय नेताहरू घाइते, प्रहरीद्वारा हवाई फायर
काठमाडौं, माघ २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्तालका क्रममा जनकपुरमा झडप भएको छ ।
बन्द गराउँदै हिँडेका नेकपा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा केन्द्रीय कमिटी सदस्य रामचन्द्र झा घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ ।
नेता झालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। बजार बन्द गराउन जनकपुरधामको शिव चोक पुगेका नेता कार्यकर्ताहरुलाई प्रहरीले अवरोध गरेपछि झडप भएको थियो। सोही क्रममा प्रहरीले गरेको लाठीचार्जबाट नेता झा घाइते भएका हुन्।
प्रहरीले नेकपाको जुलुसमा अश्रुग्यास पनि प्रहार गरेको छ । झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै एक दर्जन राउन्ड हवाइ फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
संवैधानिक आयोगमा नियुक्ति गरिएपछि प्रचण्ड–नेपाल समूहले बिहीवार देशव्यापी आमहड्ताल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्